चुक्तापूँजी नपुर्‍याउने बैङ्कलाई कारबाही : राष्ट्र बैङ्क
Regulator Bodies

चुक्तापूँजी नपुर्‍याउने बैङ्कलाई कारबाही : राष्ट्र बैङ्क

असार मसान्तसम्म नेपाल तोकिएको चुक्तापूँजी नपुर्‍याउने बैङ्क तथा वित्तीय संस्थाको नगद लाभांश तथा बोनस, निक्षेप, कर्जाको सीमा र नयाँ शाखा विस्तारमा राष्ट्र बैङ्कले रोक लगाउने भएको छ । २ वर्षअघि ल्याएको पूँजीवृद्धि योजनाअनुसार चुक्तापूँजी नपु।याउने बैङ्कलाई उक्त कारबाही गरिने राष्ट्र बैङ्कले चेतावनी दिएको छ ।

तीनओटा विकास बैङ्क र एउटा वित्तीय संस्था प्राप्ति गरेको कुमारी बैङ्कको एकीकृत कारोबार शुभारम्भको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले यस्तो चेतावनी दिएका हुन् । उनका अनुसार मर्जर तथा एक्विजिशनमार्फत हालसम्म १ सय ५० ओटा संस्था ४६ ओटामा सीमित भएका छन् ।

एकीकृत कारोबारको शुभारम्भमा राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले समेत करीब ८ वर्षअघि अन्तरराट्रिय वित्तीय संस्था आईएमएफ र वर्ल्ड बैङ्कले चुक्तापूँजी बढाउने योजना कार्यान्वयन गर्न सुझाव दिएकोमा अहिले गर्न सकेको बताए । यो चुक्तापूँजीको सीमाले आगामी दिनमा बैङ्कको अवस्था सुदृढ हुने बताउँदै उनले ठूला क्षेत्रमा लगानी गर्न सम्भव भएको बताए । ‘यसले अब ठूलो लगानीका लागि दातृनिकायको मात्र भर पर्नुपर्दैन,’ उनले भने, ‘बैङ्क तथा वित्तीय संस्थामा पूँजी प्रशस्त हुनेछ ।’ धनी बन्ने आशमा सञ्चालकलाई  बैङ्कमा नलाग्न सुझाव दिँदै उनले धनी बन्न चाहने हो भने अरू व्यवसाय गर्नुपर्ने बताए ।

मुलुकको नयाँ संरचनाअनुसार ७ सय ४४ निकायमध्ये २ सय ४० मा मात्र बैङ्क पुगेकाले अहिले बैङ्कलाई नयाँ क्षेत्रमा शाखा सञ्चालन गर्नेे अवसर जुटेकोले यसतर्फ ध्यान दिनसमेत गभर्नरले अनुरोध गरे ।

शुक्रवारदेखि कुमारीले काष्ठमण्डप डेभलपमेण्ट बैङ्क, महाकाली विकास बैङ्क, काँक्रेविहार विकास बैङ्क र पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार शुरू गरेको हो । राष्ट्र बैङ्कले तोकेको रू. ८ अर्ब चुक्तापूँजी पु¥याउन एक्वायरपछि ५९ करोड रुपैयाँ अपुग हुने बैङ्कका सञ्चालक डा. शोभाकान्त ढकालले जानकारी दिए । चालू आर्थिक वर्षमा २० प्रतिशत बोनस शेयर दिएर भए पनि चुक्तापूँजी पु¥याउने उनले जानकारी दिए ।
 
एकीकृत कारोबारसँगै बैङ्कले केही दिनमै कार्यभार सम्हाल्ने गरी सुरेन्द्र भण्डारीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । मर्जरपछि बैङ्कको निक्षेप ५२ अर्ब र कर्जा ४५ अर्ब रुपैयाँ पुगेको छ ।

 

‘आर्थिक अभियान’ बाट

Have Your Say