धमाधम उद्योग बन्द
Real Estate

धमाधम उद्योग बन्द

आश्विन १४, २०७२- पेट्रोलियम पदार्थ ल्याउन भारतीय नाकामा जारी अवरोधका कारण जिल्लाहरूमा जनजीवन प्रभावित भएको छ । पोखरा औद्योगिक क्षेत्रका उद्योगहरू धमाधम बन्द हुन थालेका छन् । सडकमा सवारी आवागमन घटेको छ । पेट्रोलियम पदार्थ ल्याएर सुटुक्क बाँड्लान् भनेर सवारीको भिड पेट्रोल पम्पहरूमा बढेको छ । सार्वजनिक यातायातका सवारीको संख्या पनि घटेको छ । पोखराबाट लालप्रसाद शर्मा, पर्वतबाट अगन्धर तिवारी, गुल्मीबाट घनश्याम गौतम, लमजुङबाट आश गुरुङ र गोरखाबाट सुदीप कैनीको रिपोर्ट ।

पोखरा– औद्योगिक क्षेत्रभित्रको पोखरा नुडल्सले बुधबार अर्को व्यवस्था नहुँदासम्म भन्दै साढे ४ सय कर्मचारी र मजदुरलाई घर पठाएको छ । कच्चा पदार्थ नै नभएपछि चाउचाउ उत्पादन बन्द भएकाले उद्योगले उनीहरूलाई घर पठाएको हो । ‘कर्मचारी, मजदुर उद्योगमा आए पनि काम छैन, त्यसैले घर जान भनेका छौं,’ नुडल्सका कार्यकारी सञ्चालक बाबुराम पन्तले भने, ‘जहिले उद्योग खुल्छ त्यतिबेला आउन भनेका छौं ।’ उद्योगले रम्बा, बोनस, जोजाजस्ता चाउचाउ उत्पादन गर्छ ।
त्यहीँकै गौरीशंकर फुड्स प्रालि पनि बुधबारदेखि नै बन्द भएको छ । उसले पनि मजदुरहरूलाई स्वैच्छिक बिदामा प्रोत्साहन गरिरहेको छ । विभिन्न २४ ब्रान्डका बिस्कुट उत्पादन गर्दै आएको उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव भएपछि बन्द भएको हो । इन्धन, तेल, घिउ, चिनी, मैदा, पाम आयल, र्‍यापर, कार्डबक्स, फ्लेवरजस्ता कच्चा पदार्थ नभएपछि उद्योग बन्दको विकल्प नभएको सञ्चालका धर्मराज अधिकारी बताउँछन् । ‘अघोषित नाकाबन्दीले समस्यामा परियो,’ उनले भने, ‘घोषित रूपमै उद्योग बन्द गरेका छौं ।’ दुई दिन स्वैच्छिक अवकाश लिएका मजदुरलाई उद्योगले थप दुई दिन दिएर घर
पठाइएको छ ।
लगातारको तराई बन्द र पछिल्लो समय भारतद्वारा अघोषित नाकाबन्दीको असर यहाँका उद्योगहरूमा पर्न थालेको छ । आवश्यक कच्चा पदार्थ अभावमा उद्योगहरू धमाधम बन्द भएका छन् । अहिलेसम्म जेनतेन थेगे पनि सबै कच्चा पदार्थ अभाव भएपछि कर्मचारी, मजदुरलाई बिदा दिएर उद्योगहरू बन्द भएका हुन् । ‘उत्पादन बन्द भएको छ, अलिअलि उत्पादन भएको पनि बजार पुर्‍याउन सकिएको छैन,’ अधिकारीले भने, ‘बजारबाट असुली पनि उठाउन सकिएको छैन । अब बैंकको ब्याज बुझाउन पनि मुस्किल भएको छ ।’ औद्योगिक क्षेत्रभित्रका र बाहिरका पनि अधिकांश उद्योग बन्द भइसकेको उद्यमीले बताएका छन् ।
ताजा पाउरोटी उद्योगका सञ्चालक विनोद शर्मा न्यौपाने बजारमा कतै डिजेल पाइन्छ कि भन्दै भौंतारिँदै थिए । ‘भएको स्टक सकिएको र एक दिन मात्रै भए पनि उद्योग सञ्चालनमा ल्याउन सकिन्छ कि भनेर डिजेलको खोजीमा लागेको हुँ,’ उनले भने, ‘तर पाइएको छैन । यस्तै चालाले कर्मचारीलाई दसैंको मुखमा तलबभत्ता, बोनस बाँड्न नपाइने हो कि भन्ने चिन्ता लागेको छ ।’ तराईमा आन्दोलन सुरु भएसँगै यहाँका उद्योगहरूले उत्पादन कटौती गरिसकेका थिए । विभिन्न कच्चा पदार्थ, इन्धन, केमिकल, प्याकेजिङका सामान आउन छाडेपछि उद्योग बन्दको विकल्प नभएको पोखरा औद्योगिक क्षेत्र उद्योग संघका उपाध्याक्षसमेत रहेका न्यौपानेले बताए ।
उद्योग संघका अध्यक्ष चन्द्रबहादुर राजभण्डारीले अधिकांश कच्चा पदार्थ भारतबाट आउने भएकाले अभाव भएको बताए । ‘नेपालभित्रै पाइने कच्चा पदार्थ पनि ल्याउन पाइएको छैन,’ उनले भने, ‘औद्योगिक क्षेत्रभित्रका अधिकांश उद्योग बन्द भइसकेका र केही हुने क्रममा छन् ।’
औद्योगिक क्षेत्रमा ६७ उद्योग सञ्चालनमा छन् भने ८ निर्माणाधीन र ९ बन्द अवस्थाका छन् । खाद्यान्न, स्टिल फेब्रिकेसन, डेरी, स्टेसनरी, अक्सिजन ग्यास, पानी, प्लास्टिक, फर्निचर लगायतका उद्योग यहाँ छन् ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले अघोषित नाकाबन्दीको असर उद्योगधन्दा लगायतका सबै क्षेत्रमा देखिइसकेको बताए । ‘पेट्रोलियम पदार्थको अभावमा अहिले सडकमा एक चौथाइ मात्रै गाडी चलेका छन्,’ उनले भने, ‘उद्योगधन्दा ठप्पप्राय: भएका छन् ।’
बजारमा खाना पकाउने ग्यास र निर्माण सामग्रीको पनि अभाव भइसकेको छ । पोखरामा दैनिक ५ ट्यांकर पेट्रोल र १५/१६ ट्यांकर डिजेल खपत हुँदै आएको थियो । छड, रड, सिमेन्ट, जस्तापाता, पाइप, रंग, धारा, फर्निचर, सिसा, प्लाइउडलगायत निर्माण (हार्डवेयर) सामानको पनि अभाव भएको पोखरा हार्डवेयर एसोसिएसन कास्कीका अध्यक्ष प्रेम पौडेलले बताए । कास्कीमा ४ सय हार्डवेयर पसल रहेकामा दैनिक ४ करोडको कारोबार हुने गथ्र्यो ।
आपूर्ति व्यवस्था सहज बनाउन आग्रह
पोखरा उद्योग वाणिज्य संघले आपूर्ति व्यवस्था सहज बनाउन तथा आपूर्तिका निम्ति वैकल्पिक व्यवस्था गर्न माग गरेको छ । साथै उसले बजारमा उपलब्ध हुने वस्तुको सहज रूपले बिक्रीवितरण गर्न र अभाव सिर्जना हुन नदिन व्यवसायीसँग समेत अनुरोध गरेको छ । संघका महासचिव रवीन्द्रबहादुर प्रजुले बुधबार विज्ञप्तिमार्फत अत्यावश्यक सामानको आपूर्ति हुन नसक्नु, खाना पकाउने ग्यासदेखि इन्धनसम्मको चरम अभाव सिर्जना हुनुलाई परिस्थितिजन्य परिघटनाका रूपमा मात्र हेर्न नमिल्ने जनाएका छन् । ‘आपूर्तिमा देखिएका समस्याको सही सम्बोधनका निम्ति सरकारका तर्फबाट आवश्यक कूटनीतिक पहलको तत्काल थालनी, आन्दोलनरत असन्तुष्ट पक्षसँग सार्थक वार्ता तथा वैकल्पिक आपूर्ति व्यवस्थाका लागि सरकारी तदारुकता अहिलेको आवश्यकता रहेको विज्ञप्तिमा
जनाइएको छ ।
अरू थोक छ ग्यास र तेल छैन
सातायता पर्वत आसपासमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव छ । सदरमुकाममा गत १२ दिनयता ग्यास र इन्धन आपूर्ति रोकिएपछि उपभोक्ता मारमा परेका छन् । खाद्यान्न, मासुलगायत कृषिजन्य उपजहरूमा आयातितको विकल्प जिल्लामै खोजे पनि इन्धनको विकल्प नहुँदा उपभोक्ता मर्कामा परेका हुन् ।
‘एक साता अगाडि एक गाडी ग्यास आएको थियो,’ कुस्माका विक्रेता प्रकाश पौडेलले भने, ‘सदरमुकाम आउन नपाउँदै सकिएको थियो । त्यसपछि अहिलेसम्म आएको छैन ।’ उनले दैनिक १५/२० जना उपभोक्ता ग्यास खोज्न आएर रित्तै फर्किने गरेको बताए । सदरमुकाममा करिब डेढ दर्जन व्यवसायीहरूले शक्ति र गृहलक्ष्मी ग्यास बिक्री गर्दै आएका छन् । कतिपय उपभोक्ताहरूले ग्यासको विकल्पमा दाउरा बालेर खाना पकाउन सुरु गरिसकेका छन् । ‘चार दिन भयो ग्यास सकिएर दाउरामा पकाउनुपरेको छ,’ गृहिणी राधिका अधिकारीले भनिन्, ‘ढलान घरमा चुलो बाल्न अलि समस्या हुने रहेछ ।’ ग्यास नपाउँदा सदरमुकाममा डेरा लिएर पढ्न बसेका विद्यार्थी र कर्मचारीलाई पनि निकै समस्या भएको छ ।
इन्धन नपाइएपछि पोखरा–बाग्लुङ राजमार्गमा सवारी चाप घटेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा चल्ने सवारी ७० प्रतिशतभन्दा धेरै चल्न छाडेको पर्वत यातायात व्यवसायी संघले जनाएको छ । ‘धेरैजसो गाडी एक सातादेखि थन्किएका छन्,’ अध्यक्ष विद्वान् गुरुङले भने, ‘मुख्य व्यवसाय हुने सिजनमै गाडीलाई ठूलो मार परेको छ ।’ व्यवसायीको वर्षभरि हुने व्यापारको आधाजसो व्यापार असोज र कात्तिकमा हुने बताउँछन् । नजिकिँदै गरेको दसैंलाई लक्षित गरी इन्धन आपूर्ति सहज हुनुपर्ने व्यवसायीहरूले बताएका छन् । ग्रामीण क्षेत्रमा सवारी नचलेपछि यात्रीहरू पैदल हिँड्न बाध्य भएका छन् ।
बजारमा ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभावको आशंकामा प्रशासनले अनुगमन गरेको थियो । ‘बजारभरि ग्यास र पेट्रोल कतै भेटिएन,’ अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले भने, ‘अबको एक सातासम्म यस्तै भए समस्या जटिल बन्ने देखिन्छ ।’ सुरक्षा, विद्यालय र अत्यावश्यक स्वास्थ्य सेवाका सवारीहरूका लागि इन्धन आपूर्ति सहज बनाउन पहल भइरहेको उनले बताए । पर्वतमा अहिले मासिक तीनदेखि चार हजार सिलिन्डर ग्यास खपत हुने गरेको व्यवसायीहरू बताउँछन् । पेट्रोलियम पदार्थ मासिक ३० देखि ३५ हजार लिटर खपत हुने तथ्यांक छ ।
सिमेन्ट पनि छैन
गुल्मीमा पेट्रोलियम पदार्थसँगै बजारमा सिमेन्टको पनि अभाव छ । यहाँका पम्पहरूले पेट्रोलको आपूर्ति नभएपछि ५ दिनदेखि बन्द गरेका छन् । दुई दिनभित्र नखुलेमा डिजेल पनि अभाव सुरु हुने व्यवसायीले बताए । पेट्रोल अभावले मोटरसाइकल कम चल्न थालेका छन् । बुधबारदेखि ग्यासको पनि अभाव सुरु भएको उपभोक्ताको गुनासो छ । त्यस्तै जिल्लाभर सिमेन्ट अभावले निर्माणकार्य प्रभावित भएको निर्माण व्यवसायी संघका अध्यक्ष नारायण पोखरेलले बताए । उनले भने, ‘पेट्रोल छैन छैन, सिमेन्ट पनि छैन ।’ नाकाबन्दीले तेल, आलु, प्याजलगायत तरकारीको मूल्य बढे पनि अझै अभाव भने नभएको उद्योग वाणिज्य संघले जनाएको छ । व्यवसायीहरूसँगको छलफलमा अझै १५ दिनलाई पुग्ने गरी दैनिक उपभोग्य वस्तु बजारमा रहेको जानकारी आएको भए पनि सबै क्षेत्रमा अनुगमन गरी सहज गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए ।
प्रहरी घेरामा पेट्रोल वितरण
लमजुङमा प्रहरीको घेरामा उपभोक्तालाई बुधबारदेखि पेट्रोल तथा डिजेल वितरण गर्न थालिएको छ । प्रशासनको समन्वयमा प्रहरी परिचालन गरी पेट्रोलियम पदार्थको वितरण थालिएको हो ।
पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको बेला स्थानीय प्रशासनको समन्वयमा बेंसीसहर नजिकै रानीकुवास्थित भद्रकाली आयल स्टोर्सले पेट्रोल र डिजेल वितरण गरेको हो । यातायात व्यवसायीका अनुसार पेट्रोलियम पदार्थको अभावमा ७५ प्रतिशतभन्दा बढी सार्वजनिक सवारी चलेका थिएनन् । यस्तै निजी सवारी साधन चल्न छाडेका थिए । कोटा प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको वितरण सुरु भएपछि केही सहजको महसुस भएको सिम्पानीका विमल पौडेलले बताए । ‘धेरै दिनपछि पेट्रोल पाइयो,’ सिम्पानीबाट बुधबार बिहानै बेंसीसहर आएका उनले भने, ‘लाइनमा ३ घण्टा बसें, ३ लिटर पाएँ, ठिकै छ ।’
पेट्रोलियम पदार्थको वितरणको कार्यान्वयन गराउने जिम्मा प्रहरीलाई दिएको छ । जिल्लामा पेट्रोलियम पदार्थको अभाव हुन नदिन लमजुङ र मनाङ प्रशासन कार्यालयले आयल निगमसँग पहल गर्ने भएका छन् । मनाङमा पम्प नभएकाले दुवै प्रशासन कार्यालयले पेट्रोलियम पदार्थ आपूर्तिमा पहल गर्ने भएको हो ।
तेल भर्न रातभर लाइन
गोरखामा १२ हजार लिटर पेट्रोलियम पदार्थ भित्रिएपछि सवारी साधनमा भर्न रातभर पेट्रोल पम्पमा सर्वसाधरणको लाइन लागेको छ । पेट्रोलियम पदार्थ र ग्यासको अभाव भएपछि जिल्ला प्रशासन कार्यालयले कोटा प्रणाली लागू गरेको छ । प्रशासनको पहलमा डिजेल, पेट्रोल ल्याएर कोटाअनुसार वितरण गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले बताए । सदरमुकामस्थित कलश आयल स्टोर्सले डिजेल, पेट्रोल बाँड्न थालेको हो । ‘राति ११/१२ बजेसम्म लाइन थियो,’ पम्प कर्मचारी सुजन मास्केले भने, ‘बिहान ३ बजेदेखि नै तेल भर्नेको लाइन लागेको थियो ।’ प्रशासनले प्रहरी खटाएर निजी र सार्वजनिक सवारीलाई डिजेल, पेट्रोल वितरण गरेको हो । सवारी साधन लिएर चालकहरू पम्प आसपास लाइनमा बसेका थिए ।

Have Your Say