नेपाल आयल निगम : एलपीजीमा स्वचालित मूल्यको तयारी
Energy

नेपाल आयल निगम : एलपीजीमा स्वचालित मूल्यको तयारी

नेपाल आयल निगमले केही दिनभित्रै एलपी ग्यासमा स्वचालित मूल्य लागू गर्ने निर्णय गरेको छ । निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धनमा भने केही वर्षअघि स्वचालित मूल्य प्रणाली लागू गरिसकेको छ । निगमले केही दिनभित्रै ग्यासमा स्वचालित मूल्य लागू गर्न लागेको निगमका प्रवक्ता भानुभक्त खनालले बताए । उनले भने, ‘निगमले सोका लागि उच्च गतिमा गृहकार्य गरिरहेको छ ।

केही समयभित्रै त्यो लागू हुनेछ । एलपी ग्यासमा स्वचालित मूल्य लागू भएसँगै अन्तरराष्ट्रिय बजार मूल्यअनुसार विक्री हुने निगमले जानकारी दिएको छ । त्यसो भएपछि अन्तरराष्ट्रिय बजारमा ग्यासको मूल्य घट्दा नेपालमा पनि घट्ने र बढ्दा यहाँ पनि बढ्ने हुन्छ । साथै स्थानीय बजारमा समेत सोहीअनुरूप मूल्य निर्धारण हुने स्रोतले बताएको हो ।

निगमले अन्य पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गरे तापनि अहिलेसम्म पनि त्यो पूर्णरूपमा भने कार्यान्वयन गरेको छैन । अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा तुरुन्तै बढाउने तर घट्दा भने मूल्य घटाउने ढिलासुस्ती गर्ने गरेको गुनासो छ । बजारमा सुनिने विभिन्न आलोचनासँगै निगमले एलपी ग्यासमा पनि स्वचालित मूल्य लागू गर्ने कार्य अघि बढाएको छ । स्रोतका अनुसार पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गरेपछि निगम ऋणमुक्तसमेत भएकोे छ ।

केही दिनअघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निगम अहिले मासिक १४ करोड नाफामा रहने अनुमान छ । पेट्रोलियम पदार्थको आपूर्तिमा एकाधिकार प्राप्त आयल निगमले केही समयअगाडि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढाएको थियो । निगमले बढाएको मूल्यपछि हाल प्रतिलिटर पेट्रोलको १ सय १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको ७७ रुपैयाँ पर्छ । पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू गरेसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७२ पैसा र मट्टीतेलमा १ रुपैयाँ ५० पैसा नाफा रहेको निगमले बताएको छ ।

त्यसैगरी, हवाई उडानमा आन्तरिकतर्फ २ रुपैयाँ ७६ पैसा र बाह्यतर्पm भने १० रुपैयाँ ५१ पैसा प्रतिलिटर नाफा रहेको निगमले जानकारी गराएको छ । निगमका अनुसार हालको समयमा अन्य पेट्रोलियम पदार्थमा नाफामा रहे तापनि डिजेल तथा ग्यासमा भने अझै पनि घाटा छ । स्रोतका अनुसार निगम प्रति सिलिण्डर ग्यासमा ८१ रुपैयाँ घाटा बेहोरिरहेको छ । पेट्रोलियम पदार्थबाट कमाएको नाफा भने विभिन्न पूर्वाधार विकास एवम् निर्माणमा खर्च गर्ने योजना बनाइएको निगमको भनाइ छ ।

‘आर्थिक अभियान’ बाट

Have Your Say