ग्यासमा निगमलार्इ ८७ रुपैयाँ नाफा, मूल्य घटाउन संचालक समितिको स्वीकृती, आज घट्दैछ मूल्य
Energy

ग्यासमा निगमलार्इ ८७ रुपैयाँ नाफा, मूल्य घटाउन संचालक समितिको स्वीकृती, आज घट्दैछ मूल्य

Source: bizmandu

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको स्वचालित मूल्य कार्यान्वयनमा ल्याउँदै बुधवार सामान्य मूल्य घटाउने भएको छ । निगम उच्च स्रोतका अनुसार ग्यासको मूल्य घटाउने बारेमा निगम संचालक समितिले समेत ग्रीन सिंग्नल दिइसकेको छ ।

मंगलबार निगम संचालक समितिको बैठक बसेको थियो । इन्डियन आयल कर्पोरेशनले मार्च १मा पठाएको मूल्य अनुसार निगमलार्इ एक सिलिण्डर ग्यासमा ८७ रुपैयाँ ७७ पैसा नाफा छ । नाफा भएको बेला स्वचालित मूल्य कार्यान्वयनमा ल्याउँदा दीर्घकालिन रुपमा सजिलो हुने भन्दै संचालक समितिले मूल्य घटाउन स्विकृती दिएको हो ।

संचालक समितिको स्विकृतीपछि निगम व्यवस्थापनले सम्भवत बुधवारनै ग्यासको मूल्य घटाउनेछ । अन्तर्राष्टिय बजारमै गर्मीयाममा ग्यासको मूल्य घट्छ भने जाडोयाममा मूल्य बढ्ने गर्छ । गर्मी सुरु हुनेवितिकै ग्यासको मूल्य घटिरहेको छ ।अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य बढ्दा बढ्ने र घट्दा घटाउने स्वचालित मूल्यका लागि आपूर्तिमन्त्रालयसँग राय मागेर कार्यान्वयनमा ल्याउन लागेको हो । स्वचालित मूल्य कार्यान्वयनमा आएमा महिनैपिच्छे ग्यासको मूल्य घटबढ हुनेछ।

तर ग्यासको मूल्य स्वचालित गर्दा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्छ । दुई वर्षअघि अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य सबैभन्दा बढी हुँदा निगमले एक सिलिन्डर ग्यासमा झन्डै ११ सय २० रुपैयाँ भन्दा बढी नोक्सानी व्योहोर्नुपरेको थियो । ग्यासकै कारण निगमको नोक्सानी ३६ अर्ब रुपैयाँसम्म पुगेको थियो ।झन्डै डेढ वर्ष अघिदेखि अन्य पेट्रोलियम पदार्थमा स्वचालित मूल्य कार्यान्वयनमा ल्याएपनि ग्यासमा ल्याएको थिएन । अन्तर्राष्ट्रिय बजारमा सहज परिस्थिती भएकोले समेत निगमलाई सबै पेट्रोलियम पदार्थ स्वचालित मूल्यमा लैजान बाटो खुलेको हो । स्वचालित मूल्यमा लैजाने हो भने उपभोक्ताले सहज रुपमा पेट्रोलियम पदार्थ पाउने वातावरण तयार हुन्छ भने राज्य कोषबाट अनावश्यक रुपमा तेलको लागि अनुदान दिने अवस्थाको अन्त्य हुनेछ ।

अहिले शहरी उपभोक्ताले प्रयोग गर्ने इन्धनको लागि ठूलो रकम अनुदान दिनुपरेको छ । ग्रामिण भेगको विकास बजेट काटेर अर्बौ रुपैयाँ तेलमा अनुदान दिने प्रणाली समेत अन्त्य हुनेछ । नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीले ग्यासमा स्वचालित मूल्य तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने बताउँछन् ।‘गरीब जनताको गाँस काटेर शहरमा पोस्ने काम बन्द गर्नुपर्छ । शहरका उपभोक्ताका लागि गरिब जनताको विकासको पैसा खर्चिनु न्यायसंगत होइन,’ उनले बिजमाण्डूसँग भने,‘ यो कार्यान्वयनमा आएमा ग्यास पनि सहज रुपमा उपभोक्ताले पाउने वातावरण बन्छ ।’

Have Your Say