एसजेभिएनले अरुण तेस्रो आयोजना निर्माणको काम अगाडि बढायो, एक्सेस रोड निर्माणमा समझदारी
Energy

एसजेभिएनले अरुण तेस्रो आयोजना निर्माणको काम अगाडि बढायो, एक्सेस रोड निर्माणमा समझदारी

Source: bizmandu

भारतीय कम्पनी सतलज जलविद्युत विकास निगम (एसजेभिएन) ले अरुण तेस्रो जलविद्युत आयोजनाका लागि पूर्वाधार निर्माणको काम अगाडि बढाएको छ । आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एसजेभिएनले प्रवेश मार्ग निर्माणको काम थाल्न मंगलबार समझदारी गरेको हो । एसजेभिएनले संखुवासभाको छ्याङकुटीदेखि दिदिङसम्म निर्माण हुने २८.६९ किलोमिटर बाटो बनाउने जिम्मा लिएको हो । समझदारीअनुसार कम्पनीले अबको तीन महिनाभित्रमा काम थाल्ने छ । एसजेभिएनले काम थालेको १८ महिनाभित्रमा काम सक्नुपर्नेछ ।


बाटो निर्माणसम्बन्धि समझदारीपत्रमा कोशी राजमार्ग आयोजना प्रमुख गोपालप्रसाद सिग्देल र एसजेभिएनका सिइओ रोशनलाल नेगीले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा हस्ताक्षर गर्दै एसजेभिएनका सिइओ नेगीले जतिसक्दो छिटो काम सक्ने प्रतिबद्धता जनाएका छन् । उनले आयोजना निर्माणका क्रममा जग्गा अधिग्रहण गर्दा आइपर्ने समस्या समाधानका लागि पहल गरिदिन पनि सबैलाई आग्रह गरे । लगानी बोर्डले तयार गरेको परियोजना विकास सम्झौताका नौ नीतिगत सिद्धान्तमध्ये 'नमूना सामुदायिक हित' अन्तर्गत सडक विकासका लागि यो समझदारी भएको हो । लगानी बोर्डले परियोजना विकास सम्झौता कार्यान्वयनमा सहयोग गर्दै आएको छ । यसैबीच अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि प्रस्तावित पावर हाउस र ड्याम साइट निर्माणस्थलमा रहेको नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गासमेत गत शुक्रबार आयोजनालाई हस्तान्तरण गरिसकिएको बोर्डले जनाएको छ । यो जग्गाका लागि आवस्यक रकम कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई बुझाइसकेको छ । नौसय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको जिम्मा एसजेभिएनले पाएको थियो ।

यो आयोजनाको कूल लागत एक खर्ब चार अर्ब रुपैयाँ अनुमान गरिएको छ । लगानी बोर्ड र एसजेभिएनबीच १४ महिनाअघि आयोजना विकास सम्झौता (पिडिए) भएको थियो । एसजेभिएनले आयोजनाको कूल लागतभित्रैबाट यो सडक बनाउन लागेको हो । अरुण तेस्रो जलविद्युत आयोजनाबाट सन् २०२१ को अन्त्यसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । निर्माण कम्पनी एसजेभिएनले स्थानीयलाई २४ युनिट बिजुली निःशुल्क प्रदान गर्ने छ । यस्तै नेपालले २१.९ प्रतिशत अर्थात एकसय ९७ मेगावाट बिजुली निःशुल्क प्राप्त गर्ने छ । एसजेभिएनले आयोजनाका लागि लगानी जुटाउन नेपाली बैंकहरुसँग पनि परामर्श गरिरहेको छ । आयोजनाको लागि लगानी जुटाउने जिम्मेवारी एसजेभिएनकै हो । पिडिए अनुसार एसजेभिएनले अबको १० महिनाभित्रमा लगानी जुटाउनु पर्ने छ । 

 

Have Your Say