३ दिनको कमीपछि डलरको भाउमा सुधार
Currency

३ दिनको कमीपछि डलरको भाउमा सुधार

अमेरिकी डलरको भाउमा सुधार आएको छ । अमेरिकी ब्याजदर बढ्ने अपेक्षाले यूरो र मुद्रा डालोमा आबद्ध सबै मुद्राको तुलनामा डलरको भाउ बढेको छ । डलरको भाउमा भएको वृद्धिबाट लाभ लिन लगानीकर्ताहरूले आफूसँग भएको डलर अन्धाधुन्ध बेच्न थालेपछि अघिल्ला ३ दिनको कारोबारमा भने डलरको भाउ घटेको थियो । डलरको तुलनामा पाउण्डको भाउमा आएको उच्च करेक्शनले पनि सोमवार डलरले टेवा पाएको हो ।

एशियाली समयअनुसार दिउँसो करीब साढे २ बजे डलर सूचक १ सय १ दशमलव २६ कायम भएको थियो । सोमवारको कारोबारमा डलरको तुलनामा जापानी येन कमजोर बनेको थियो । प्रतिडलर १ सय १४ दशमलव ६६ येनबाट विनिमय दर बढेर १ सय १४ दशमलव ८८ येनमा पुगेको थियो । बिहानी कारोबारमा प्रतिडलर १ डलर शून्य ७१४७ सेण्ट रहेको यूरोको भाउ सो समयमा १ डलर शून्य ६६८५ सेण्ट कायम भएको थियो ।

तेलको भाउ ३ महीनाकै न्यून
अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ ३ महीनाकै न्यून बिन्दुमा ओर्लिएको छ । अमेरिकी तेल कम्पनीहरूको रिग बढिरहेको समाचारले तेलको भाउ घटाएको हो । उक्त दिन ब्रेण्ट क्रुडको भाउ प्रतिब्यारेल ४२ सेण्टले घटी नोभेम्बर ३० यताकै न्यून बिन्दु ५० डलर ९५ सेण्टमा आएको थियो । अघिल्लो दिनको कारोबारमा अन्तरराष्ट्रिय बेञ्चमार्कको भाउ १ दशमलव ६ प्रतिशतले घटी ५१ डलर ३७ सेण्टमा आएको थियो । उता, यूएस् वेष्ट टेक्सास इण्टरमिडियटको भाउ पनि ५० सेण्टले घटी नोभेम्बर २९ यताकै न्यून बिन्दु ४७ डलर ९९ सेण्टमा आएको थियो ।

अमेरिकी ड्रिलरहरूको आयल रिग गतहप्ता लगातार आठौं हप्ता पनि बढेको बेकर ह्युजले शुक्रवार बताएको थियो । उत्पादन घटाउने पेट्रोलियम निर्यातकर्ता देशहरूको सङ्गठन (ओपेक)को सम्झौताले तेलको भाउमा सुधार आउन थालेपछि अमेरिकी कम्पनीहरूले लगानी र उत्पादन दुवै बढाएका छन् । तर, गतहप्ता अमेरिकाको कच्चा तेल सञ्चिति ८२ लाख ब्यारेल बढेको समाचारले सो कटौतीको प्रभाव उल्ट्याउँदा तेलको भाउ दबाबमा आएको हो । ‘बजारले अमेरिकी सञ्चितिमा भएको उच्च वृद्धिको खबर पचाइनसकेकाले तेलको भाउ अब दबाबमा नै रहनेछ,’ एएन्जी बैङ्कले एक नोटमा भनेको छ । एजेन्सी

‘आर्थिक अभियान’ बाट

Have Your Say