खारेज गरिएका ९०% नोट बैङ्किङ प्रणालीमा फिर्ता
Currency

खारेज गरिएका ९०% नोट बैङ्किङ प्रणालीमा फिर्ता

भारतमा खारेज गरिएका ५ सय र १ हजार भारूका करीब ९० प्रतिशत नोट बैङ्किङ प्रणालीमा आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले नोभेम्बर ८ मा १ सय ५४ खर्ब रुपया मूल्यबराबरका ती बैङ्क नोट खारेज गर्ने घोषणा गरेको थियो । यसमध्ये १ सय ४० खर्ब रुपया बैङ्कमा जम्मा भइसकेको बताइएको छ । यो रकम सरकारले अनुमान गरेकोभन्दा बढी हो । बैङ्कमा जम्मा भएको सो रकमले मानिसहरूले कालो धनलाई सेतो बनाउन कुनै न कुनै उपाय अपनाउनेतर्फ सङ्केत गरेको छ ।
 
सो निक्षेपबाट सरकारको कर आम्दानी बढ्ने अपेक्षा गरिएको छ । बाँकी रकम चाहिँ कालो धन हुन सक्ने र फिर्ता नहुने अनुमान छ । अमौद्रिकीकरणलगत्तै सरकारले प्रतिव्यक्ति अधिकतम साढे २ लाख रुपयासम्मका पुराना नोट बैङ्कमा जम्मा गर्न सक्ने व्यवस्था गरेको थियो । त्यस्तैगरी तोकिएको भन्दा बढी रकम स्वविवेकले जम्मा गर्नेलाई जम्मा गरिएको रकमको ५० प्रतिशत जरीवाना तिराउने योजनासमेत घोषणा गरिएको थियो । यो रकम गरीबका लागि खडा गरिएको कोषमा जाने बताइएको छ ।

पुराना नोट फिर्ता गर्ने म्याद बढ्यो
त्यस्तैगरी भारतमा प्रतिबन्धित नोट सटहीको म्याद बढाएर सन् २०१७ को मार्च ३१ सम्म पु¥याएको छ । मन्त्रिपरिषद्ले बुधवार जारी गरेको अध्यादेशअनुसार सो मितिपछि प्रतिबन्धित नोटप्रति केन्द्रीय बैङ्क ‘रिजर्व बैङ्क अफ इण्डिया’ (आर्बीआई)को दायित्व पनि अन्त्य हुनेछ । सो म्यादपछि फिर्ता गरिने नोट बैङ्कले स्वीकार गर्ने छैन ।

उक्त मितिपछि १० ओटाभन्दा बढी खारेज गरिएको नोट राख्ने व्यक्तिलाई अपराधी ठहर गरी १० हजार रुपयासम्म वा राखिएको रकमको पाँच गुणामध्ये जुन बढी हुन्छ सोहीबराबरको जरीवाना तिराइने एक सरकारी अधिकारीले बताएका छन् । यस अध्यादेशलाई राष्ट्रपतिले अनुमोदन गर्न बाँकी नै रहेको र राष्ट्रपतिको मञ्जुरीपछि मात्रै लागू हुने बताइएको छ । खारेज भएका नोट आर्बीआईका निश्चित शाखाहरूमा मात्रै जम्मा गराउन नयाँ निर्देशिकासमेत जारी गरिनेछ ।

‘आर्थिक अभियान’बाट

Have Your Say