धान उत्पादन हालसम्मकै उच्च
Agriculture

धान उत्पादन हालसम्मकै उच्च

मुलुकको पहिलो खाद्यान्न बाली धानको उत्पादन यस वर्ष हालसम्मकै धेरै हुने कृषि विकास मन्त्रालयका अधिकारीहरूले दाबी गरेका छन् । 

मन्त्रालयले यस वर्ष करिब ५२ लाख टन हाराहारी धान उत्पादन हुने आकलन गरेको छ । ‘यस वर्ष ५२ लाख टन हाराहारी धान उत्पादन भएको तथ्यांकहरूमा देखिन्छ, यो हालसम्मकै सबैभन्दा धेरै उत्पादन हो,’ मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाले भने । 
यद्यपि मन्त्रालय मातहतको बाली विकास निर्देशनालयले ५५ लाख ४० हजार ७ सय ६२ टन हाराहारी उत्पादन भएको प्रारम्भिक अनुमान गरेको छ । तर, मन्त्रालयले यकिन धान उत्पादनको प्रारम्भिक आँकडा केही दिनमै सार्वजनिक गरिने भनेको छ । धान उत्पादनको यकिन तथ्यांकको प्रशोधन गरिरहेको छ । 
खाद्य सुरक्षा हेर्ने निर्देशनालयले कुल गार्हस्थ उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धानको प्रतिहेक्टर उत्पादकत्व पनि ३ दशमलव ६६ प्रतिशतले बढेको दाबी गरेको छ । 
गत वर्ष भूकम्प, खडेरी, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण यस वर्षभन्दा १० लाख टन कम धान फलेको थियो । गत वर्ष ४२ लाख ९९ हजार टन मात्रै धान उत्पादन भएको थियो । प्रतिकिलो २० रुपैयाँ औसत दरका आधारमा यस वर्ष उत्पादन भएको धानको बजार मूल्य १ खर्ब ४ अर्ब रुपैयाँ रुपैयाँ हाराहारी हो । गत वर्षको दाँजोमा करिब २० अर्ब रुपैयाँ बढी मूल्यको धान यसपटक फलेको हो । 
यस वर्ष पर्याप्त पानी परेको र धान खेती हुने क्षेत्रफल पनि बढेका कारण उत्पादन वृद्धि भएको अनुमान गरिएको छ । दुई वर्षअघि ४७ लाख ८८ हजार टन धान उत्पादन भएको थियो । कृषि उत्पादनमा धानको योगदान सबैभन्दा धेरै (२१ प्रतिशतसम्म) रहेको मानिन्छ । गत वर्ष धानको उत्पादन घट्नुमा केही ढिलो सुरु भएको कमजोर मनसुन, समयमा रोपाइँ हुन नसक्नु, बन्दका कारण रासायनिक मललगायतको सहज ढुवानी बेलैमा हुन नसक्नु, मध्य तराईमा खडेरी देखिनुलगायत कारण थिए । 
मन्त्रालयले अनुमान गर्ने धानलगायतका बालीहरूको उत्पादन आँकडा आफू मातहतका विभाग, केन्द्रीय निर्देशनालय, क्षेत्रीय निर्देशनालय, जिल्लास्थित कार्यालयहरूबाट संकलन गरिएको साप्ताहिक बालीनालीको स्थिति, बाली कटानी क्षेत्रगत निरीक्षणलगायत आधारमा प्रमुख बालीहरूको क्षेत्रफल, उत्पादन र उत्पादकत्वको आधारमा राष्ट्रिय तथ्यांक निकाल्ने गर्छ ।

‘कान्तिपुर दैनिक’बाट

Have Your Say